Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Thursday, July 16, 2015

Religion, hypocrisy and fraud


कमलनयनाचार्य प्रवृत्तिः 


धर्मको रक्षा कमलनयनाचार्य, कमल थापा, खुमबहादुर खड्का र आसाराम बापूहरुले हैन, पाप–धर्मको डर भएका आम मानिसले गर्ने हो । 




राज्यको प्रधानमन्त्री वा प्रधान न्यायधीश रहेको वा भइसकेको व्यक्तिले आफ्नो पदीय दायित्व मात्र निभायो भने ऊ नेपालजस्तो देशमा महापुरुष हुन्छ किनकि सयकडा उनान्सयले त्यति पनि गर्दैनन्, अतिरिक्त वा विशिष्ट काम गर्नु त कता कता । आफ्नो दायित्वबाट चुकेपछि आफैंप्रति शंका र अविश्वास उत्पन्न हुन्छ । त्यो भाव विस्तारै असुरक्षाको भावमा बदलिन्छ, म प्रधानमन्त्री वा प्रधान न्यायधीश भएर यो देशलाई के दिन सकें र के दिन चुकें भन्ने प्रश्न हटेर मेरो पद कति दिन रहन्छ, पद नरहेपछि मैले के गर्ने भन्ने प्रश्नले उसलाई गाँज्दै ल्याउँछ । त्यो भाव बढी भयो भने मानिस झण्डै विक्षिप्त हुन्छ र कतैबाट मानसिक आड वा टेकोको अपेक्षा गर्छ । त्यस्तो बेला मनोचिकित्सकहरुको सहयोग लिनुपर्छ । तर दुर्भाग्य हाम्रो नेतृत्वले त्यस्तो बेला यस्तै रंगीविरंगी बाबाहरुको सहारा लिन पुग्छन् ।
....... 
 हिजोसम्म कमल थापा मार्काका मानिसहरुले नेपालीलाई राजा भगवान् विष्णुको अवतार भनेर भ्रममा पारे । फलस्वरुप एकतिर राजदरबारमा जति षड्यन्त्र र रक्तपात भए पनि मानिसहरुले झुकेर राजाको पाउको धुलो ल्याएर शिरमा लगाइरहे, तिनको पछौटेपन र तिनको गरिबी कायम रह्यो भने दरबारको सम्पत्ति र शक्ति बढेको बढ्यै भयो । २०५८ सालमा आएर थाहा भयो, दरबार भगवान् विष्णुको लौकिक वासस्थल हैन, जँड्याहा र गँजडीहरुको लागू औषध जम्मा पार्ने, सेवन गर्ने र एक अर्कालाई मारेर भए पनि सत्ता हत्याउने घृणित स्थल हो । 

एउटा भिडियोमा भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयी एक सन्तसँग हात गाँसेर भजनमा छमछम नाचेका देखिन्छन् । आफैंमा सन्त छवि भएका अविवाहित वाजपेयी त्यसरी विरलै नाच्थे तर भिडियोमा ‘नारायण, नारायण’ बोलको भजनमा जुन श्रुतिमधुर संगीत प्रयोग भएको छ, त्यो सुन्दा उनको प्रसन्नचित्तता अस्वभाविक लाग्दैन ।

मानिसले संगीतमा र खास गरी आस्थामा घोलिएको संगीतको शरण परेर जीवनका सारा दुखकष्ट भुल्न सिकेको हजारौं वर्ष भइसकेको छ । आधुनिक जीवनको कोलाहलबाट मुक्त हुन मात्र भए पनि भक्ति संगीत र सन्तहरुको संगतको मदत लिने मानिसहरुको अहिले कमी छैन ।

तर वाजपेयीले हात गाँसेर नाचेका उनका गुरु तिनै सन्तले २०१२ मा दिल्लीको विभत्स सामुहिक बलात्कार प्रकरणपछि अनौठो अभिव्यक्ति दिएः ‘छ जना बलात्कारीहरु मात्रै दोषी हैनन्, बलात्कृत युवती पनि उत्तिकै दोषी हो । उसले युवाहरुलाई दाजुभाइ भनेर बलात्कार नगर्न आग्रह गर्नुपथ्र्यो । ... त्यसो भएको भए उसको इज्जत र जीवन दुवै बच्थ्यो । एक हातले कहिल्यै ताली बज्छ?’ त्यति मात्र हैन उनले बलात्कार सम्बन्धी अनावस्यक प्रचारवाजी गरेको भनेर मिडियाको कटू आलोचना गर्दै बलात्कारीहरुलाई कडा सजायँ नदिन समेत माग गरेका थिए । बलात्कारीहरुविरुद्ध कडा कानुन ल्याउने कुराको आलोचना गर्दै उनले भनेका थिएः भारतको दाइजोविरोधी कानुनले कुनै पनि कानुनको कसरी दुरुपयोग हुन सक्छ भन्ने उदाहरण दिन्छ ।

आशाराम बापू भनेर चिनिने अशुमल थाउमल हर्पलानी नामका यी महापुरुषका यी अभिव्यक्ति फेरि तब सम्झिए जब उनी २०१३ अगस्टमा आश्रममा धेरै भक्त युवतीहरुको नियमित बलात्कार गरेको प्रमाणसहित पक्राउ परे । तर त्यति हुँदा पनि उनका भक्तहरुको उनीप्रतिको आशक्ति कम भएको थिएन । उनका भक्तहरुले उनको पक्राउको विरोधमा सडकमा ताण्डव मात्र मच्चाएनन्, उतिबेला प्रतिपक्षमा रहेको बीजेपीका नेताहरुले राजनीतिक प्रतिशोधका लागि सत्तारुढ दलले पुलिस प्रयोग गरेर बापूलाई बदनाम गर्ने षड्यन्त्र गरेको आरोप लगाए ।

संयोग कस्तो पर्यो भने, उनी पक्राउ परेको अगस्ट २० कै दिन दक्षिण भारतभर अन्धविश्वास र कुरीतिविरुद्ध सशक्त अभियान चलाएका सामाजिक अभियन्ता नरेन्द्र धबोल्करको अज्ञात हतियारधारीहरुले गोली हानी हत्या गरे । एकाध दिनसम्म पत्रिकाहरुमा खबर आए पनि यो मृत्यूले कुनै सन्सनी मच्चाएन, बरु धबोल्कर छिट्टै आम मानिसको स्मृतिबाट हराए र उनको अन्धविश्वासको अन्त गरेर अति पीडित समुदायहरुको समृद्धि र उत्थान हेर्ने महत्वाकांक्षी सपना अधुरै रह्यो ।

उता आशारामको पक्राउसँगै उनीविरुद्ध प्रमाण दिने साक्षी वा सम्भावित साक्षीहरुको धमाधम गोली हानी हत्या हुन थाल्यो । आशाराम र उनका छोरा नारायण साइ अहिले बलात्कारको अभियोगमा थुनामा छन् तर साक्षीहरुमाथि भएको त्यस्तो नवौं गोली प्रहारमा उनी पक्राउ परेको झण्डै दुई वर्षपछि हिजो राती (जुलाई ११) ११ः२५ बजे महत्वपूर्ण साक्षी कृपाल सिंहको उत्तर प्रदेशको शाहजहाँपुरमा गोली हानी हत्या भएको छ । यही क्रम चल्ने हो भने अदालतमा प्रमाणको अभावमा आसारामका बाबुछोरा छुट्ने र फेरि साधुगिरीमा लाग्ने सम्भावना प्रवल छ ।


गणतान्त्रिक नेपालका महाराज़ 

नेपालमा आफूलाई अनन्तश्री विभुषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (छोटकरीमा अविमुपीस्वाक वा अविमुपी) भनेर चिनाउने महाराजका करतूतहरु सार्वजनिक भएसँगै मलाई आशाराम बापूको याद आयो । चरण पर्ने पूर्वप्रधानमन्त्रीहरुको सुची हेरेर उनको शक्ति जाँच्ने हो भने त उनी आसारामभन्दा पनि शक्तिशाली भएको देखिन्छ ।

आश्रमका नाममा उनले गरेको प्राकृतिक सम्पदा र राज्यकोष दुवैको दोहनसम्बन्धी प्रश्न गर्दा अविमुपीले भनेछन्ः योगी, महात्मा, पौराणिककालदेखि नै जल, जंगल र मन्दिरमा बस्ने संस्कार छ । साथै उनले हडपेका सबै सम्पत्ति पनि उनलाई मानिसले दिएको नभई भगवान्बाट प्राप्त भएको दाबी गरेका रहेछन् ।

आफूले आफैंलाई महाराज भनाउने यी अविमुपीले पौराणिककालका योगीहरुले छाडेका शास्त्रसमेत राम्ररी नपढेको देखिन्छ । उहिले महात्माहरु शान्तिको खोजीमा र त्यागको प्रयासलाई सफल पार्न जंगल पस्थे । उनीहरुका लागि जंगल एकान्तको अनन्त स्रोत र एकाग्रताको सहयोगी थियो । ती त्यहाँ उपवास बस्थे, कन्दमूल खान्थे र साधना गर्थे । प्रकृतिसित उनीहरुको यस्तो तारतम्य थियो कि जंगललाई उनीहरुको उपस्थितिले केही फरक पर्दैनथ्यो । उनीहरु यसै पनि समाजबाट टाढा र सम्पर्कविहीन हुन्थे । गाउँबस्तीका लौकिक प्राणीहरु कुनै मुनिको आश्रममा पुगे भने आस्थाका साथ झुक्थे, आशीर्वाद लिन्थे र फर्कन्थे । जुन मुनिहरुले धेरै शिष्य र भक्तहरुको सिर्जना गरे, उनीहरुका कुटी चौडा हुन्थे तर जंगल फँडानी गरेर महल बनाउने कसैले सोच्न पनि सक्दैनथ्यो । न त साधनाका लागि भनेर बनाइएका कुटीहरुमा पुग्न अन्धाधुन्ध जंगल फाँडेर बाटो नै बनाइन्थ्यो । संसार त्यागेर वैराग्य अंगालेको  मानिसले शक्तिकेन्द्र हरुलाई प्रभावमा पारेर राज्यको ढुकुटीबाट विपन्न हरुको भाग खोसेर लिने  अवस्थाको त  कल्पना पनि  गर्न सकिँदैन।

अविमुपीले पनि ध्यानका लागि जंगल पसेर केही वर्ग फिट जमिन ओगटेको भए वा शिष्यहरुलाई पात ओछ्याएर बस्न लगाएर प्रवचन दिएको भए त्यो कसैका लागि आपत्तिजनक हुने थिएन, आखिर आआफ्नो तरिकाले आफ्नो आस्था कायम राख्ने वा दर्शाउने स्वतन्त्रता सबैलाई छ । तर आशारामकै झल्को आउने गरी उनले गरेको जंगलको अतिक्रमण, त्यसबीच शक्तिकेन्द्रहरुसित उनले स्थापना गरेको अनुचित सम्बन्ध र गरीबगुरुवाको टाउकोमा कानुनको घनले ठटाउने राज्यको यो मामलामा निरीहता सबै आपत्तिजनक छन् ।


विक्षिप्तहरुको भीड़ 

भारतका पूर्व राष्ट्रपति अब्दुल कलामले भनेका छन्, इफ यु स्यालुट योर ड्युटी, यु निड नट स्यालुट एनिबडी, बट् इफ् यू पल्यूट योर ड्यूटी, देन यू ह्याभ टु स्यालुट एभ्रिबडी । अर्थात्, जसले काम इमान्दारीपूर्वक गर्छ, उसले कसैको चाकरी गर्नुपर्दैन तर जसले आफ्नो काम यत्नका साथ गर्दैन, उसले सबैको चाकरी गर्नुपर्छ ।

अख्तियार प्रमुख भएर भ्रष्टहरुलाई कारवाही गर्न नसकेपछि वा आफ्नो निहित स्वार्थका लागि कारवाही गर्नै नमिलेपछि के गर्ने? गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्यो भने आफ्नो पार्टीका गुण्डाहरुलाई तह लगाउन पर्ने भयो भनेर अराजकतासित सम्झौता गरेपछि के गर्ने? प्रहरी र सेनाका हाकिमहरु जवानका पेटमा लात हानेर करोडपति भएपछि सम्पत्तिको सुरक्षाका लागि कसको शरण पर्ने? उद्योगीहरुले उद्योग कम र दलाली बढी गरेपछि असमयमै जम्मा भएको अकुत रकम लिएर के गर्ने?

यी सबै प्रश्नको जवाफ अरु कसैसित छैन, अविमुपीजस्ता महाराजहरुसित मात्र छ ।

राज्यको प्रधानमन्त्री वा प्रधान न्यायधीश रहेको वा भइसकेको व्यक्तिले आफ्नो पदीय दायित्व मात्र निभायो भने ऊ नेपालजस्तो देशमा महापुरुष हुन्छ किनकि सयकडा उनान्सयले त्यति पनि गर्दैनन्, अतिरिक्त वा विशिष्ट काम गर्नु त कता कता । आफ्नो दायित्वबाट चुकेपछि आफैंप्रति शंका र अविश्वास उत्पन्न हुन्छ । त्यो भाव विस्तारै असुरक्षाको भावमा बदलिन्छ, म प्रधानमन्त्री वा प्रधान न्यायधीश भएर यो देशलाई के दिन सकें र के दिन चुकें भन्ने प्रश्न हटेर मेरो पद कति दिन रहन्छ, पद नरहेपछि मैले के गर्ने भन्ने प्रश्नले उसलाई गाँज्दै ल्याउँछ ।

त्यो भाव बढी भयो भने मानिस झण्डै विक्षिप्त हुन्छ र कतैबाट मानसिक आड वा टेकोको अपेक्षा गर्छ । त्यस्तो बेला मनोचिकित्सकहरुको सहयोग लिनुपर्छ । तर दुर्भाग्य हाम्रो नेतृत्वले त्यस्तो बेला यस्तै रंगीविरंगी बाबाहरुको सहारा लिन पुग्छन् । पदमा हुनेहरुको त्यही कमजोरी र लाचारीको फाइदा उठाउँदै अविमुपी जस्ता छट्टूहरुले राज्यकोषबाट दशौं करोडदेखि अरबौं उडाउँछन् । उता सर्व साधारण क्यान्सरले ग्रस्त भएँ वा मृगौला फेर्नुपर्ने भयो वा भूकम्पले वासविहीन भएँ भनेर रुँदै याचना गर्न गयो भने प्रधानमन्त्री वा मन्त्रीले विधि र प्रक्रियाको अड्को थापेर सुका झार्दैन तर आफ्नो विक्षिप्तता लुकाउन सघाउने बाबाका लागि कानुनका दफा र उपदफा उल्लंघन गरी गरी एकै पटकमा करोडौं निकासा हुन्छ ।


धर्मको सुरक्षा?

अविमुपी प्रकरणलाई केही अर्ध–ज्ञानीहरुले हिन्दु धर्मसित जोडेर हेरेका छन् । त्यो आपत्तिजनक छ । हजारौं वर्ष पुरानो हिन्दु धर्म त्यति कंगाल पनि छैन जसलाई टेको लगाउन यस्ता छद्मभेषीहरु आवश्यक परुन् । जो हिन्दु परिवारमा जन्मेर वास्तवमा अध्यात्ममा विश्वास गर्छन् तिनको आस्था देखाउने आफ्नै मौलिक शैली छ । ती यो ब्रम्हाण्ड चलाउने एउटै इश्वर छ तर त्यसका अनेक रुपहरु छन् भनेर विश्वास गर्छन् । इश्वरको आकृतिमा कुँदिएका मुर्तिहरुलाई उनीहरुले इश्वर सम्झाउने वहानाको रुपमा सम्मान र आदर गर्छन् । ती मानिसहरु सधैंभर शास्त्रले सुझाएझैं सत्य बोल्छन् वा परोपकार मात्र तिनको जीवनको लक्ष्य हो भन्ने पटक्कै हैन, तिनका जीवनमा आफ्नै विवशता र कमजोरीहरु छन् तर ती कहिल्यै कसैको कुभलो गर्ने वा जल, जंगल र जमिन हडपेर नाम, दाम र शक्ति कमाउने सोच राख्दैनन् ।

हो, शासनव्यवस्थाको कमजोरी, अकर्मण्यता वा सीधा बदमासीका कारण धेरै आम मानिसहरु आफ्नै विक्षिप्तता पालेर बसेका छन् र देशको राजनीति र अर्थतन्त्रले आफूलाई पार लगाउने विश्वास मरेपछि त्यस्तै रंगीविरंगी बाबाहरुको पछि लाग्नेहरुको हुल पनि छ तर त्यो हिन्दु धर्मको मौलिक विशेषता हैन । युगौंदेखि हिन्दु सन्तहरुले मानिसलाई आफूभित्रको इश्वर चिन्न र देखावटी कुराको पछाडि नलाग्न सम्झाउँदै आएका छन् ।

अन्धाधुन्ध जंगल फाँडेर आलिशान महल बनाउने अविमुपीले हिन्दु धर्मको संरक्षण गर्दैछन् भन्नु कमल थापा वा खुमबहादुर खड्का नेपालका हिन्दुहरुका मसिहा हुन् भनेर पत्याउनुजस्तै हो । हिजोसम्म कमल थापा मार्काका मानिसहरुले नेपालीलाई राजा भगवान् विष्णुको अवतार भनेर भ्रममा पारे । फलस्वरुप एकतिर राजदरबारमा जति षड्यन्त्र र रक्तपात भए पनि मानिसहरुले झुकेर राजाको पाउको धुलो ल्याएर शिरमा लगाइरहे, तिनको पछौटेपन र तिनको गरिबी कायम रह्यो भने दरबारको सम्पत्ति र शक्ति बढेको बढ्यै भयो । २०५८ सालमा आएर थाहा भयो, दरबार भगवान् विष्णुको लौकिक वासस्थल हैन, जँड्याहा र गँजडीहरुको लागू औषध जम्मा पार्ने, सेवन गर्ने र एक अर्कालाई मारेर भए पनि सत्ता हत्याउने घृणित स्थल पो रहेछ।

२०५८ मा जरैदेखि मक्किएको र २०६५ मा आएर पूरै उखेलिसकिएको त्यो संस्थालाई फेरि पनि बोकेर हिंड्ने कमल थापाले जगत् मिथ्या र आफू सत्य भन्दै राजतन्त्र फर्काएर नेपालमा भगवान् विष्णुको राज फर्काउने बौलठ्ठीपूर्ण सपना अझ बाँड्दै हिंडेका छन् । यथार्थमा त्यसो किन गर्दैछन् भने, तिनलाई अरु गर्नै आउँदैन, त्यसो नगर्नासाथ राजनीतिक प्राणीका रुपमा तिनको अस्तित्वमा पूर्ण विराम लाग्छ । तर मानिसका आँखामा छारो हाल्न उनी भन्छन्ः म हिन्दु धर्मको एक मात्र रक्षक, बाँकी सबै धर्मद्रोही । यो पनि एक किसिमको विक्षिप्तता नै हो तर कालोबाट सेतो छुट्याउन नसक्नेहरुको भीडले उनलाई पछिल्लो चुनावमा चौथो ठूलो दलको नेता बनाइदिएपछि त्यो विक्षिप्तताले राजनीतिको वैधता पाइरहेको छ ।

कमल थापाको पछि लाग्नु भनेको राजनीतिमा अस्तित्व जोगाउने उनको प्रयासलाई साथ दिनु हो तर हिन्दु धर्मलाई बचाउनु वा भरथेग गर्नु हैन ।

खुमबहादुर खड्काको त कुरै गर्नु परेन । कुनै बेलाका शक्तिशाली राजनीतिज्ञलाई भ्रष्टाचारको प्रमाणसहित सक्रिय राजनीतिबाट गलहत्याइएपछि अस्तित्व जनाउन जे गर्न सक्थे, उनले त्यही गरिरहेका छन् । उनीजस्ता प्रमाणित भएका भ्रष्टमात्र हैन, अरु धेरै प्रमाणित नभएका, प्रमाण लुकाएका र प्रमाण लुकाउन अपराध गरेका राजनीतिज्ञहरुलाई हिन्दु धर्म र आस्थाका झण्डावाहक ठान्नु भनेकै सदाचारको वकालत गर्ने आस्थाको अपमान गर्नु हो ।


विक्षिप्तता र पाखण्डको सम्मिश्रण 

अविमुपीको आलोचना व्यक्तिका रुपमा उनको मात्र आलोचना नभएर त्यो समग्र प्रवृत्तिकै आलोचना हो । आस्थाकै कुरा गर्दा आज हिन्दु धर्मको छवि धर्मनिरपेक्ष भनिने वा नास्तिक भनिनेहरुले धमिलो बनाएका छन् कि आशारामजस्ता धर्मको खोलभित्र अपराध गरेर त्यसलाई ढाक्न अरु कैयौं मानिसलाई गोली दाग्ने मानिसले धमिलो बनाएका छन्? नेपालका करोडौं हिन्दुहरु चुपचाप आफ्नो आस्थामा रहिरहँदा कमल थापा र खुमबहादुर खड्कालाई नै किन हिन्दु धर्मको ‘ट्रेडमार्क’ लिन हतारो हुन्छ?

यदि हिन्दु धर्मकै लागि भनेर प्रचण्ड र माधव नेपालदेखि केपी ओली र लोकमानसिंह कार्कीजस्ता राज्यका जिम्मेवार मानिसहरु अविमुपीको पछि लागेका हुन् भने आज देशका एक तिहाइ मानिस (जसमध्ये अधिकांश हिन्दु छन्) गरीबीको रेखामुनि रहँदा, एक छाक खाएर नांगै बस्दा वा चुहुने छानोमुनि रात काट्दा के पाप लाग्दैन? लाखौं केटाकेटीले शिक्षादीक्षा नपाएर भविष्य अन्धकार हुँदा, त्यसले उनीहरुको धार्मिक मन छुँदैन? के मानिसहरुको पेट भर्न र बालबालिकाहरुको शिक्षाका लागि खर्च गर्न सकिने पचासौं करोड रुपैयाँ बाबाहरुलाई चढाएर तिनलाई भोकै र अशिक्षित नै छाड्नु अपराध हैन?

जुन देशमा मानिसले बच्चाबच्ची वा आफ्नो मिर्गौलासमेत बेचेर घर बनाउँछन्, त्यो देशको प्रधानमन्त्रीले यस्ता छट्टुहरुलाई गुरु थापेर करोडौं रुपैयाँ दिलाउने, त्यो पनि राज्यकोषबाट, योभन्दा आपत्तिजनक कुरा के होला? जालझेल गरेर उसको पोल्टामा पुर्याइएको बजेट त भयो भयो, भीआइपीहरु दशौंपटक आश्रममा जान आउन प्रयोग भएका हेलिकप्टरको खर्च कसले बेहोर्यो? खास गरी अझै माक्र्सवादको रट्टा लगाउने एमालेगण मात्र नभएर माओवादी प्रचण्डले समेत द्वन्द्वात्मक भौतिकवादको मुहान् बग्दै बग्दै अविमुपीको आश्रममा पुगेर टुंगिएको देखेका हुन्? हैनन् भने एउटा पाखण्डीका अगाडि लम्पसार परेर आशीर्वाद लिंदा कहाँ गए ती लाल सलाममा उठेका हात? के अब नेपालमा सामाजिक न्याय र समृद्धि हासिल गर्ने अरु सबै तरिका फेल भएर स्वामीका अगाडि लम्पसार पर्ने एउटै बाटो बचेको हो? हो भने अविमुपीले बीसौं करोडको बजेट पाइरहँदा किन छोरालाई जागिर खोजिदिन आएका एमाले कार्यकर्ता बल्खु दरबारमा आएर आत्महत्या गर्छन् र माओवादीका लागि रगत बगाएर यौवन सिद्धयाएकाहरु खाडीको मरुभुमिमा पसिना बगाउँछन्? हँसिया हथौडाको झण्डा बोकेर हँसिया हथौडा बोकेर मजदुरी गर्नेहरुमाथि यति ठूलो गद्दारी अर्को कुन हुन सक्छ?

१२ करोड रुपैयाँभन्दा बढी उठेको अनुमान गरिएको अविमुपीले लगाएको एउटा महायज्ञमा एकै जनाले करोडभन्दा बढी दान गरेछन् । विडम्वना, आठ हजार मानिस मरेर अरु लाखौं मानिस घरबार भएको महाभुकम्पपछि मानिसका घाउमा मलम लगाउन ती दानवीरबाट एक रुपैयाँ पनि नझरेको भए अनौठो मान्नुपर्दैन । सर्वसिद्धिधाम निर्माण गरेर १०८ फिट अग्लो कलश खडा गर्ने उद्देश्यका साथ गत फागुनमा लगाइएको उक्त महायज्ञको हिसाबकिताब अहिलेसम्म सार्वजनिक गरिएको रहेनछ । भोलि त्यो पहाडजत्रो कलश बनेपछि त्यसमुनि भूकम्पले बस्नै नहुने गरी चर्किएका घरमा बसिरहेका मानिसहरुको स्थिति जस्ताको तस्तै रहनेछ । गाउँका दलितका अशिक्षित बालबालिका अशिक्षित नै रहनेछन् ।

धर्मको खोल ओढेको पाखण्डको योभन्दा अर्को ठूलो नमूना कुनै हुन सक्दैन ।

अनुभवले के भन्छ भने अविमुपी मार्काका बाबाहरुलाई यसरी नै स्वस्छन्द छाड्ने हो भने यिनीहरुले बिस्तारै आफूलाई राज्यभन्दा माथिको फरक एकाइ ठान्न थाल्छन् । भारतको शिवसेना देखि श्रीलंकाको बोडु बाला सेना र बर्माको नाइन–सिक्स–नाइन मुभमेन्ट जस्ता विध्वंसक संगठनहरु यसरी नै शुरु भएका थिए । धन, ख्याति र सफ्ट पावर भनिने शक्ति केन्द्रहरुसम्मको पहुँच धेरै भएपछि उनीहरुको महत्वाकांक्षा अझै चुलिएर आफ्नै मिलिसिया वा भिजिलान्ते समूह नै खडा गर्ने सम्भावना तीव्र हुन्छ ।

यिनलाई समयमै नरोक्ने हो भने यिनले धर्मको नाममा समाजमा विद्वेष फैलाउने सम्भावना प्रवल हुन्छ किनकि यिनको कुल व्यवसाय चल्ने भनेकै विक्षिप्त मानिसहरुको भीड रहुन्जेल हो, र एक आपसमा भिडाउनुजस्तो मानिसलाई विक्षिप्त पार्ने प्रभावकारी उपाय अरु हुँदैन । बर्मामा बौद्ध धर्म बचाउने नाममा असिन विराथु नामक हिंस्रक पाखण्डीले नेतृत्व गरेको समूहले अहिले लाखौं रोहिंग्या मुसलमानहरुलाई लखेटेर घरवारविहीन बनाएका छन् । श्रीलंकामा राजापाक्षेको हारसँगै बोडु बाला सेनाजस्ता उग्र नश्लवादीहरु केही पछि हटेका त छन् तर तिनले सल्काएको विद्वेषको आगो अझ निभिसकेको छैन ।

अबको बाटो 

स्थितिको गम्भीरतालाई मनन गर्दै अब नेपालमा चाहिं यसो गरिनुपर्छः अविमुपीले गैर–कानुनी ढंगबाट हडपेको राज्यको सम्पत्ति राज्यलाई नै फर्काउने, राष्ट्रिय निकुञ्जभित्र अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने र उनीसितको मिलेमतोमा नक्कली उपभोक्ता समिति बनाएर करोडौंको बजेट स्वाहा पार्ने स्थानीयहरुलाई पनि सख्त कारवाही गर्ने । प्रक्रिया छलेर उनलाई करोडौंको बजेट छुट्याउन सघाउने सरकारी कर्मचारी र तिनलाई त्यसो गर्न दबाब दिने टाउकेहरु सबैलाई पारदर्शी छानविन गरेर कारवाही गर्ने । अख्तियार प्रमुखको भक्ति र ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ का कारण अख्तियारले त्यो काम गर्न सक्दैन भने छानविनका लागि एक उच्चस्तरीय आयोग गठन गर्ने । लस्कर लागेर उनको आशिर्वाद थाप्न जाने राजनीतिज्ञलगायतका हस्तीहरुलाई वरिष्ठ मनोचिकित्सकहरुकहाँ लगेर उपचार गर्ने ।

यदि मनोचिकित्सकहरुले यी नेतागण नेतृत्वका लागि काम चल्ने खालका हुने गरी  सुधार  हुनु संभव छ भन्छन् भने ठिकै छ हैन भने आफुमा मानसिक समस्या भएको स्वीकार्दै सबै मनोरोगीहरुले पद छाड्नुपर्छ, देशमा नेतृत्व गर्न अर्को स्वस्थ पुस्ता पनि  छ।

भ्रष्टाचार गलत हो भन्ने उपदेश पाउन र सदाचार सिक्न उनीहरुलाई बाबाकहाँ जानुपरेको हो भने सबैका फोन नंबरहरु सार्वजनिक सञ्चार माध्यमहरुमा प्रसारित गर्ने उत्तम विकल्प हुन सक्छः एक दिनमा तिनलाई खबरदारी गर्ने दश लाखभन्दा बढी एसएमएस आउनेछन् ।

साथै अविमुपीले आफ्नो गल्ती देखियो भने प्राण त्याग गरिदिन्छु भनेका रहेछन् । उनको गल्ती देखिएमा उनले प्राण त्याग्नुअघि नै उनलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारवाही गरिनुपर्छ । गल्ती  गर्ने कोही पनि  कानूनको पंजाबाट उम्कनु हुँदैन।




No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more